भूस्वर्ग खप्तड एक मनोरम दृश्य
- LS Dhami
सुदूर पश्चिमको सेती अञ्चलका चार पहाडी जिल्ला डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थल हो खप्तड। प्राकृतिक सुन्दरताको अलवा धर्मिक हिसावले पनि यसको उत्तिकै महत्व छ।
त्रिवेणी मन्दिर र वरपर सानाठूला गरि २४ ओटा मनोरम फाँट खप्तड क्षेत्रभित्र पर्दछ। फाँटभरि विभिन्न जातका फूलहरू छन्। कतै हरियाली समथर ठाउँ त कतै डाँडा। सफा हरियाली फाँटमाथि उडिरहेका रंगीविरंगी चराले झनै प्रकृतिमय छ खप्तड।
सधै हाँसिरहने दार्चुलाको अपि र बझाङको सैपाल हिमालले खप्तड क्षेत्रको सुन्दरतामा अझ निखार थपेको छ। यहाँ आउँदा जो कोहीलाई लाग्छ, यति सुन्दर ठाउँको आनन्द लिन नसक्ने हो भने पर्यटन यात्रा अधुरो हुन्छ।

राज्यले खप्तडको प्रचार प्रसारको साथै विकास र पुर्वाधार निर्माणमा ध्यान दिने हो भने खप्तडको पर्यटन विकासले स्थानीय बासिन्दाको जीवनस्तर बलियो बन्ने उनको तर्क छ।
खप्तड क्षेत्र पुग्नका लागि डोटी, अछाम, बझाङ र बाजुराबाट पैदल हिँडेर एक दिन लाग्छ। २०४१ सालदेखि राष्ट्रिय निकुञ्जको रुपमा स्थापित खप्तड राष्ट्रिय निकुञ्ज मनोरम दृश्य मात्रै होइन, अमूल्य जडिबुटीका लागि पनि प्रसिद्ध छ।
यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो। सरकारी क्षेत्रको मात्र भर पर्दा अहिलेसम्म खप्तडको विकास हुन नसकेको भन्दै विभिन्न व्यवसायी आफैले सक्दो पहल गरेर यसको विकास गर्न लागिपरेका छन्। खप्तड क्षेत्रलाई विशेष पर्यटकीय गन्तब्य बनाउन आफूहरु लागिपरेको कञ्चनपुर जिल्ला होटल व्यवसायी संघका उपाध्यक्ष प्रमानन्द भण्डारीको भनाइ छ।
पछिल्लो दुई वर्षयता खप्तडमा आन्तरिक पर्यटनको आगमनमा केही सुधार भएको छ। तर आवश्यक भौतिक पूर्वाधारका कारण हुने असुविधाले भने पर्यटकलाई सास्ती पनि हुने गरेको बताउँछन् नेपाल एसोशनका अफ टुर अपरेटर (नाटो) का महासचिब अमर बहादुर शाही। खप्तड घुम्न जाने पर्यटकका लागि नजिकका गाउँमा स्तरीय होमस्टे संचालन गर्न सकेमा धेरै हदसम्म सुविधा हुने उनको विश्वास छ।
खप्तड राष्ट्रिय निकुञ्ज मानव बस्तीभन्दा टाढा भएका कारण आवासीय गृहको अभाव खड्किरहेको छ। नेपाल पर्यटन बोर्ड भने अब खप्तडसहित सुदुरका पर्यटकीय स्थलमा सुविधा पुर्याउन लागिपरेको बताउँछ। निकुञ्ज र नेपाली सेनासँग मिलेर आवासीय समस्यको समाधानको लागि पहल भइरहेको पर्यटन बोर्डका वरिष्ठ अधिकृत खड्कविक्रम शाहले बताए। तत्काल गृह निर्माण नभए टेन्ट सिस्टम बनाउने योजना भएको उनले सुनाए।

कसरी पुग्ने खप्तड ?
काठमाडौंदेखि धनगढीसम्म हवाईजहाजका अलवा सुविधायुक्त बसको राम्रो पहुँच छ। बस चढेर धनगढी या अत्तरिया पुग्न सकिन्छ। त्यहाँबाट डोटीको सदरमुकाम सिलगढी बस चल्ने गरेको छ।
सिलगढीबाट दुई घण्टा ग्रामीण भेगमा चल्ने जिप चढेर खप्तड निकुञ्जको प्रवेशद्वार तथा नेपाली सेनाको चेकपोष्ट झिंग्राना पुगिन्छ।
झिंग्रानाबाट भने पाँच घण्टा पैदल यात्रा हिँडेपछि खप्तडको बीचपानी पुगिन्छ। बीचपानीबाट पाँच घण्टाको पैदल पछि खप्तडको मुख्य स्थान बाबा आश्रम पुगिन्छ। त्यही आसपासमा रमणीय स्थलहरु घुम्न सकिन्छ।
कति दिन लान्छ खप्तड पुग्न ?
काठमाडौं–धनगढी हवाईजहाज १ घण्टा २० मिनेट र बसबाट पुरै १ दिन लाग्छ। अत्तरीया वा धनगढी पुगेपछि डोटीको सिलगढी पुग्न अर्को १ दिन लाग्छ। सिलगढीबाट २ घण्टा ग्रामीण क्षेत्रमा चल्ने जिप चढेर खप्तड निकुञ्जको प्रवेशद्वार नेपाली सेनाको चेकपोस्ट झिंग्राना पुगिन्छ। झिंग्रानामा १ दिन आराम गरेर दिनभर पुनः पैदल यात्रा गरेर बीचपानी पुग्न सकिन्छ।
बीचपानीबाट खप्तडको प्रमुख स्थान बाबा आश्रम पुग्न अर्को ५ घण्टा छुट्याउनुपर्छ। यसरी हेर्दा एक हप्तामा खप्तड घुम्न सकिन्छ।

खाना तथा बासको प्रवन्ध
धनगढीमा डिभोटी, रुवस, साथी, दिनेश, जलसा र सुभम् होटलमा वाई–फाईसहित सुविधा सम्पन्न तथा अन्य लजहरू अत्तरियामा पनि पर्याप्त छन्। सिलगढीमा होटल डाँफे, ओम, शैलेश्वरी, सम्राट, रिमझिम लगायतका गेस्ट हाउस उपलव्ध छन्। ति गेष्टहाउस सबैमा वाइफाइसहितका सुविधा पाउन सकिन्छ।
झिंग्रानामा स्थानीय गाउँलेद्वारा सञ्चालन भएका होटलहरू छन्। ति होटलमा अत्याधुनिक सुविधा नभए पनि बेग्लै आनन्दको अनुभूति गर्न सकिन्छ। बीचपानीमा निकुञ्जको टेन्डरमा सञ्चालित एउटा बासस्थान र खप्तड पर्यटन क्षेत्र विकास समितिले निर्माण गरेको आठओटा कोठा रहेको काठै काठले निर्माण भएको पक्की घर छ।
खर्चको हिसावकिताव
काठमाडौंबाट धनगढी हवाईजहाजमा जाँदा ८ हजार र एसी बसबाट जाँदा २ हजार लाग्छ। अत्तरीया वा धनगढीमा खानासहित बस्न १ दिनको ३ हजार शुल्क लाग्छ।
अत्तरीया वा धनगढीबाट डोटी सिलगढी बस चढेर जाँदा भाडा ५ सय लाग्दछ। डोटी सिलगढीमा खाना बस्न सहित एक दिनको १५ सय शुल्क लाग्दछ। डोटी सिलगढीबाट झिंग्राना जिप टिकट बुकमा खाना बस्न १ दिनको ४ हजार शुल्क लाग्दछ।
खप्तड निकुञ्जमा विदेशीको लागि टिकट शुल्क ३ सय ९० सहित घुम्म ५ हजार लाग्दछ भने आन्तरिकलाई निकुञ्जभित्र छिर्न टिकट शुल्क लाग्दैन तर घुम्न ४ हजार लाग्दछ।
खप्तड चिसो क्षेत्र भएकाले स्लिपिङ ब्याग, न्यानो ज्याकेट, रेनकोट, उनीको बाक्लो टोपी, बाक्लो मोजालगायतका न्यानो हुने कपडाहरू लैजानु जरुरी हुन्छ। त्यस्तै बडी लोसन, खोकी र टाउको दुखेको औषधि, हेन्डप्लास्ट बोकेर जानु पर्छ।

स्रोत:सेतोपाटी
1 comment:
dami
Post a Comment