Monday, October 1, 2018

सौन्दर्यको अनुपम खानी सुन्दर सुदूरपश्चिम प्रदेश





 सौन्दर्यको अनुपम खानी सुन्दर सुदूरपश्चिम प्रदेश  






Logo  Sudurpaschim Pradesh


  • LS Dhami  
सौन्दर्यको खानी सुदूरपश्चिम पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र हो। यात्रीलाई मोहनी लगाउन थुम्काथुम्काबाट गाउँले युवतीझैँ जिस्क्याइरहन्छ, यहाँको अद्‍भुत प्राकृतिक सौन्दर्य। यहाँका मोहनी लगाउने हिमाल, अग्ला पहाडका धुरा, उर्वर फाँटहरू, कलकल बग्ने नदी र झरना, रहस्यमय गुफा तथा पूल र तालतलैया नै हुन्।
संस्कृतिले पनि सुदूरपश्चिम धनी छ। यहाँको आफ्नै मौलिक रहनसहन, भेषभूषा, चाडपर्व र चालचलन तथा विभिन्न ऐतिहासिक पौराणिक महत्व बोकेका धार्मिक–सांस्कृतिक तथा पुरातात्विक स्थलले पनि नौला यात्रीलाई विष्मयमा पार्छ। विभिन्न शिलालेखहरुमा कोरिएको विस्मयकारी इतिहास, लुकेको आध्यात्मिक एवं दैवी रहस्य, भाषा संस्कृति र लोकसाहित्य सुदूरपश्चिमको सौन्दर्यका गहना हुन्। यिनै प्राकृतिक–सांस्कृतिक सम्पदाका कारण सुदूरपश्चिम क्षेत्र अलौकिक सौन्दर्यले सुसज्जित छ।
यहाँका पर्यटकीय महत्वका स्थलबारे थाहा पाउने जो–कोही पनि यहाँ घुमफिर लालायित हुन्छन्। मनोरञ्जन–पर्यटनका दृष्टिले अद्वितीय हुनुका साथसाथै यो क्षेत्र अवलोकन–पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ। संस्कृतिविद्, सामाजिक एवं भौगोलिक अनुसन्धाता, लोककाव्यकार, इतिहासकार, पशुपंक्षीविद्, भाषाविद् र भूगर्भवेत्ताहरूका लागि ज्ञानको अपार भण्डार पनि हो, सुदूरपश्चिम।
राजनैतिक विभाजनका दृष्टिले सुदूरपश्चिम तत्कालिन विकास क्षेत्र र अहिलेको सुदूरपश्चिम प्रदेश  हो। भौगोलिक हिसाबले यहाँ २ वटा जिल्ला तराई क्षेत्रमा तथा सात वटा जिल्ला पहाडी र हिमाली क्षेत्रमा अवस्थित छन्। यसको पूर्वमा तत्कालिन मध्य-पश्चिमाञ्चल विकास क्षेत्र र अहिलेको कर्णाली प्रदेश र पाँच नम्बर प्रदेश , पश्चिममा भारतको उत्तराखण्ड, उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश रहेको छ। नेपाल–भारत–चीनको त्रिदेशीय भञ्ज्याङ ‘लिपुलेक’ यसै प्रदेशको सुदूर उत्तर–पूर्वी भेगमा अवस्थित छ, जुन त्रिदेशीय व्यापारिक एवं सामरिक महत्वका कारण चर्चित छ।
सुदूरपश्चिमका मुख्य प्राकृतिक पर्यटकीय स्थलहरुमा बाजुराको खप्तड क्षेत्र, अछामको रामारोसन, कैलालीको घोडाघोडी ताल, कञ्चनपुरको बेतकोट ताल, कर्णाली-चिसापानी क्षेत्र, अपी–नाम्पा संरक्षण क्षेत्र, पातालभूमेश्वर गुफा, दोधाराचाँदनी, सैपाल हिमाललगायत रहेका छन्। त्यस्तै मुख्य धार्मिक पर्यटकीय क्षेत्रका रूपमा बाजुराको बडिमालिका, डोटीको शैलेश्वरी, डडेल्धुराको उग्रतारा, दार्चुलाको मालिकार्जुन, बैतडीको उदयदेव, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, मेलौली र कैलालीको वेणाबाबालगायत प्रसिद्ध छन्।
सुदूरपश्चिम प्राकृतिक तथा सांस्कृतिक दृष्टिले निकै सम्पन्न भए पनि यहाँका विशेषताबारे त्यति प्रचार–प्रसार हुन नसक्दा ओझेलमै छ। सम्भावना आफैमा प्रतिफल होइन भन्ने यहाँका सचेत नागरिकले बुझेर पछिल्लो समय जागरुकता देखाउन थालेका छन्। यद्यपि राज्यस्तरबाटै यहाँको पर्यटन विकासका लागि ठोस कदम चालिनु जरुरी छ।
भौगोलिक रुपमा राजधानीबाट टाढा हुनु, सडकसहितका पूर्वाधारको अभाव हुनु आदि कारणले पनि यो क्षेत्र पर्यटकविहीनजस्तै बनेको छ। स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्नको लागि सरकारी तथा निजी दुवै स्तरबाट पर्याप्त प्रयास भएमा सुदूरपश्चिममा पर्यटकहरुको आवत-जावत फस्टाउनुका साथै यस क्षेत्रमा विकास र रोजगारीको लहर पनि चल्ने देखिन्छ। अनि यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक महत्त्व सबैतिर प्रशारित हुनेछ। राज्यका साथै पर्यटन विकासका लागि काम गर्ने संस्था नेपाल पर्यटन बोर्डले पनि यस क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा स्थापित गराउनमा सक्रिय भूमिका खेल्नुपर्ने देखिन्छ।
यहाँ सुदूरपश्चिमका केही पर्यटकीय स्थलहरूको तस्बिर र तिनको छोटो चर्चा गरिएको छ–
(तस्बिर : Social Medias)   
Image result for शिवपुरी धाम धनगढी
धनगढी उ.म,न.पा. कैलालीमा रहेको शिवपुरी धाम 

सुदूरपश्चिमको सुन्दरताको पहिचान दिलाउनमा पाटनको पनि निकै भूमिका रहेको छ। यो दृश्य पाटनबाट पश्चिमतिर देखिएको सूर्यास्तको हो।
सुदूरपश्चिमाञ्चल  प्रसिद्ध उग्रतारा माता को मन्दिर डडेल्धुरा

 

यो बझाङ र बैतडी जिल्लाको सीमानाबाट देखिएको सूर्यास्तको दृश्य हो। बैतडीको खोड्पे बजारबाट करिब एक सय किलोमिटर हिँडेपछि बझाङको सीमाना आइपुग्छ। यहाँ केही प्रसिद्ध दर्शनीय स्थल रहेका छन्। हराभरा पहाड, मनोरम हावापानी, विविध वनस्पति र जीवहरुका लागि यो क्षेत्र परिचित छ। 

डोटीको दिपायल हुँदै बग्ने सेती नदी 

प्राकृतिक सौन्दर्य तथा जैविक विविधताले भरिपूर्ण खप्तड ओझेलमा परेको क्षेत्र हो। भूस्वर्गको नामले समेत चिनिने खप्तड पदयात्रा, मनोरञ्जन, फिल्म सुटिङलगायतका लागि महत्वपूर्ण छ। साथै खप्तड बाबाले लामो समय साधना गरेको ज्ञानभूमि भएकाले आध्यात्मिक रूपमा समेत यो प्रसिद्ध छ।
साना–ठूला गरी २४ भन्दा बढी पाटन (फाँट) मा फैलिएको हिन्दूहरूको पवित्र तीर्थस्थल मानिने यहाँ खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खापर दह, शिव मन्दिर, सहस्रलिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरू छन्। यहाँ लामो र थुम्कायुक्त हरियो फाँट चारैतिर फैलिएको छ। जंगलभित्र सुगन्ध फैलाउने जडीबुटी, लालीगुराँस र हरिया घाँसे मैदानले यसको शोभा बढाएका छन्। छिनमै वर्षात् हुने, छिनमै हिउँ पर्ने, छिनमै घाम लाग्ने र बादलले लुकामारी खेल्ने खप्तडमा एकै दिन विभिन्न ऋतुहरूको अनुभव गर्न सकिन्छ। यहाँबाट मुसुक्क हाँसिरहेको दार्चुलाको अपी र बझाङको सैपाल हिमालको पनि अवलोकन गर्न सकिन्छ।

बाजुरा जिल्लामा पर्ने बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमध्येमै एक हो। बडिमालिकामा भगवतीको मन्दिर छ। यहाँ प्रत्येक वर्ष मालिका चतुर्दशीका दिन विशेष पूजाआजा हुन्छ। मार्तडीबाट तीन दिन पैदलयात्रा गरेपछि पुगिने बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ। यस क्षेत्रले धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले प्रचुर सम्भावना बोकेको छ। आँखै सामुन्ने टल्किने सुन्दर हिमाल, निकै टाढासम्म फैलिएका विशाल फाँट, हिउँको पौठाजोरी र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुन्। 

यो बैतडी र भारतको सीमा क्षेत्रमा रहेको झुलाघाट बजार हो। वारि र पारि दुवैतिर बजार रहेको यस सीमानाकामा बीचबाट महाकाली नदी एकदम साँघुरिएर कडा चट्टानका बीचबाट बगेको बगेको छ।
 

कञ्चनपुर जिल्लामा अवस्थित दोधारा चाँदनीको पुल दक्षिण एसियाकै लामो झोलुङ्गे पुल मानिन्छ। महाकाली नदीमा निर्मित यस पुलले नेपालका टापु मानिने  तत्कालिन दोधारा र चाँदनी दुईवटा गाविस अहिलेको नगरपालिकालाई जोडेको छ।

डडेल्धुराबाट करिब ५० किलोमिटर अगाडि गएपछि सकायल नामक धान खेतीका लागि प्रसिद्ध सेरो आइपुग्छ। यसको किनारमा सेती नदी बगेको छ। यो डोटी जिल्लामा पर्छ। यहाँ धान पाक्ने बेलामा सेरामा निकै सुनौलो दृश्य देख्न सकिन्छ। जसले आँखालाई शितलाता प्रदान गर्दछ।

बैतडीको पातालभूमेश्वरमा प्राचीन कालदेखिको एउटा लामो रहस्यमय गुफा रहेको छ। इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयाजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको थियो। उक्त अध्ययनले यो गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको निष्कर्ष निकालेको छ। संसारमा त्यस्ता धेरै रहस्यमय ठाउँहरु छन्, जसलाई देखेर मान्छे आश्चर्यमा पर्छन्। यो पनि त्यस्तै एउटा अलौकिक ठाउँ हो, जसलाई ‘स्वर्गको ढोका’ पनि भन्ने गरिन्छ।

यो गुफाभित्र अदुभूत ढुङ्गे चित्रहरू बनेका छन् भने बाहिर चारैतिरबाट मनोरम प्राकृतिक दृश्यहरुले घेरिएको छ।

पातालभूमेश्वरवरबाट अपी हिमालयको मनोरम दृश्य देखिन्छ।
 

डडेल्धुराको अनारखोलीबाट देखिएको सूर्यास्तको दृश्य
 

बैतडीको पर्यटकीय ठाउँ मानिकाखानबाट देखिएको सूर्यास्तको दृश्य

अछामको सदमुकाम मङ्गलसेनमा खण्डहर रूपमा रहेको अछामी राजाको दरबारपरिसरबाट देखिएको सूर्यास्तको दृश्य 

कैलाली जिल्लाको घोडाघोडी गाविसमा रहेको चर्चित घोडाघोडी ताल । विश्व सिमसार सूचिमा सूचिकृत यो ताल जैविक महत्वका दृष्टिले पनि विशेष मानिन्छ। ‘वनबेहडा’ र ‘सुखड’बीचको जंगलमा पर्दछ। पूर्व-पश्चिम राजमार्गको छेउमै अवस्थित यस ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइएको छ। स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारू जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ र यस तालको आकर मानिसको हातका पञ्जाजस्तै छ।

बझाङ जिल्लामा रहेको सैपाल हिमाल, पर्वतारोहण र अवलोकनका दृष्टिले महत्वपूर्ण छ। स्थानीय भाषामा यसलाई ‘साइपाल’ पनि भन्ने गरिन्छ। यो गुराँस हिमश्रृंखलामा पर्ने अपि हिमालपछिको यस क्षेत्रको दोस्रो अग्लो हिमाल हो।

ऐतिहासिक अमरगढी किल्ला डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा रहेको छ। नेपाल एकीकरणका क्रममा अमर सिंह थापाले स्थापना गरेको प्रमुख प्रशासकीय एवं सामरिक किल्ला हो– अमरगढी किल्ला। काजी अमर सिंह थापाले उक्त किल्लालाई आधार शिविर बनाएर नेपाल एकीकरणअन्तर्गत पश्चिम नेपालको विजय अभियान सञ्चालन गरेका थिए। डडेल्धुराको सदरमुकामको सिरानैमा अवस्थित यो किल्ला ऐतिहासिक, पुरातात्त्विक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ। 

उदयदेव मन्दिर बैतडी जिल्लाको पाटन बजारसँगै रहेको छ। यो मन्दिर सुदूरपश्चिम जिल्लाका प्रमुख मन्दिरहरूमा पर्छ। यहाँ प्रत्येक दशैंमा राँगा र बोकाको बलि चढाउने गरिन्छ। यहाँका ठकुरीहरू आप्नो कुल देवता तथा राजा मानेर यस मन्दिरमा पुजा अर्चना गर्ने गर्दछन्।

दार्चुला जिल्लामा अवस्थित ७,१३२ मिटर उचाइको अपी हिमाल गुराँस हिमश्रंखलाको सबैभन्दा अग्लो चुचुरो हो। भारत र तिब्बतसँग सीमाना जोडिएको यो हिमाल अपी–नाम्पा संरक्षण क्षेत्रमा पर्छ, जुन पदयात्रा र दृश्यावलोकनका लागि महत्वपूर्ण छ।

घनघस्या बैतडी जिल्लामा पर्ने अग्लो पहाड हो। साहित्यकार तारानाथ शर्माले यस पहाडमा पैदलयात्रा गरेर त्यसबेला ‘घनघस्याको उकालो काट्दा’ निबन्ध लेखेर चर्चित भएका थिए। उक्त निबन्ध पछि एकेडेमिक पाठ्यक्रममा पनि समावेश गरिएको थियो। त्यसपछि यो उकालो मिथकका रुपमा प्रयोग हुँदै आयो। यसको टाकुराबाट देखिने दृश्यले रोमान्चक अनुभव हुन्छ।

बैतडीको पवित्र धार्मिक स्थल देवलहाट

कर्णाली-चिसापानी क्षेत्र
 

बैतडीको पुरचौँडीमा अवस्थित श्री विणेश्वर महादेवको मन्दिर रहेको क्षेत्र


Amargadhi killa

बैतडीमा रहेको त्रिपुरासुन्दरी मन्दिर नेपालको एक प्रसिद्द धार्मिक स्थल 
Image result for बेतकोट ताल
कन्चनपुरमा रहेको पर्यटकीयस्थल बेतकोट ताल