हरेक व्यक्तिसंग केही न केही सपना हुन्छन । ठूलो भएपछि यो बन्ने । त्यो बन्ने । र ती सपनासंगै जोडिएर योजनाहरु पनि उसको दिमागमा हुर्किरहेका हुन्छन् ।
तर १२ वर्षसम्म बाख्रा चराएर हुर्केका उनीभित्र त सपनाले हुर्किने अवसर पनि पाएन । तर जीवन न हो । कति बेला कुन मोडमा कहाँ पुग्छ ? कुन मोडले जिन्दगी र जिन्दगीका सपनाहरु बदलिदिन्छ ?
सपना बिहिन तीनै व्यक्ति धेरैका जीवनका सपना पुरा गर्न जीवनको उत्तराद्र्धमा पनि सक्रिय छन् । ती व्यक्ति हुन्, शिवहरी शर्मा मुडभरी ।
२००८ सालमा नुवाकोटको झ्याङ्लीमा जन्मिएका उनी बुवा ऋषिराम शर्मा मुडभरी र आमा शान्तिका उनी एक्ला सन्तान थिए ।
उनी सानै थिए । घरमै अक्षराम्भ भयो । स्कुल भने टेक्न पाएनन । १२ वर्षसम्म गोठालो भएरै बिताए । गोठालो जान्थे । बाख्रा चराउथे । घर नजिक विद्यालय थिएन । अलि ठूलो भएपछि पिताजीले चिनिया खर्कमा रहेको पाठशालामा भर्ना गरिदिए । घरभन्दा निकै टाढा डाडामा पाठशाला थियो । दुई डाडाको खोचबाट हिड्नुपर्ने । डाडामा विद्यालय । विद्यालय जानेबेला आमाले चामल र भुटेको मकै दिएर पठाउथिन । भोक लाग्दा खाएस भनेर । एक कक्षादेखि तीन कक्षासम्म त्यही पढे । विद्यालय आउन जान दुई घण्टा भन्दा बढि लाग्थ्यो । आमाको माया । छोराले दुःख पायो भनेर आमाले भनिन्, भो यति दुःख गरेर पढ्न पर्दैन । उनको विद्यालय छुट्यो ।
उनी १५ वर्षका भए । आमाले उनलाई पढाउन काठमाण्डौं लगिन । भोटाहिटीमा रहेको बालकुमारी विद्यालयमा कक्षा तीनमा भर्ना गरिए । केही समय आमा त्यही बसिन । तर पछि एक्लै छोडेर आमा फर्किइन । उनी डेरामा बस्थे । आफै खाना बनाउथे । राशन सकिएपछि नुवाकोट फर्किन्थे । निधारमा नाम्लो । पिठ्युमा डोको । डोकोमा राशन । यसरी थुपै्र पटक राशन बोके । एक दिनमा घरबाट काठमाण्डौं पुग्थे । पाँच कक्षासम्म यसरी पढे ।
उनी काठमाण्डौंमै थिए । उनका बुवाका काका पर्ने नेपालगञ्जमा कन्जरभेटर थिए । कन्जरभेटरसंगै कैलाली घुम्न आएका उनका बुवा त्यसपछि नुवाकोट फर्किएनन । कैलालीको पवेरामा जग्गा किने । र यतै बस्न थाले । केही समयपछि उनकी आमा पनि कैलाली आईन । पछि उनी पनि कैलाली पुगे ।
र उनी हसुलियामा रहेको छिमानन्द प्राविमा ६ कक्षामा भर्ना भए । उनका बुवा गाँउमा जमिसकेका थिए । सबैले उनका बुवालाई सुबेदार बाजे भनेर सम्बोधन गर्ने । त्यतिबेला प्रत्येक गाँउमा एक जना महाजन हुन्थे । सबै मुस्लिम । ती मध्येका एक थिए,जहुर अहमद । जोसंग उनका बुवाको राम्रो सम्बन्ध थियो । उनका बुवाले जहुरसंगै छोरालाई पढाउन बरेली पठाए । जहुर बरेलीका बासिन्दा थिए । बरेलीको भोजीपुराभित्र एउटा कस्वा थियो, धौरा । धौराहा रहेको जहुरको घरमा बसेर उनले ६ देखि ८ कक्षासम्म पढे । त्यसपछि उनी बरेली आए । कुवँर दयाशंकर एडवर्ड मेमोरियल कलेज भर्ना भए । त्यहीबाट १० कक्षा पास गरे । त्यसपछि उनी काठमाण्डौं पुगे । ११ कक्षामा नेपाल नेशनल कलेजमा भर्ना भए । त्यहीबाट स्नातक गरे । त्यही कलेज पछि शंकरदेव क्याम्पस भयो । र कानपुर विश्व विद्यालयबाट अर्थशास्त्रमा डिग्री गरे ।
उनी २१ वर्षका थिए । लोकसेवाको परीक्षा खुल्यो । जनकपुर चुरोट कारखाना(जचुकाली),तत्कालिन शाही नेपाल वायु सेवा निगम, नेपाल औद्योगिक विकास निगम(एनआईडिसी) को संयुक्त आवदेन थियो । आवदेन भरे । परीक्षा दिए । पास भए । उनले जचुकालीमा चौथो तहको जागीर रोजे । मासिक तलव थियो, १८० रुपैया ।
जचुकालीको जागीर खाएपनि उनको रुची शिक्षण पेशामा थियो । शुरुमा पढाउनु सौख थियो । पछि त्यही सोख आदत बनिसकेका थियो । पढाउनै पर्ने एक किसिमको अम्मल जस्तो । गाँउमा केही समय आराम गर्छु भनेर गएका थिए । त्यहाँ पनि खाली बस्न सकेनन । मनमनै सोचे– पढाउन नपाएपछि म त बहुलाउछु । गाँउकै विद्यालयमा केही समय पढाए ।
जचुकालीका जागीरे । सरुवा भईरहन्थ्यो । तर सरुवा भएर जहाँ पुग्थे । त्यही पढाउन थाल्थे । उनी जहाँ गए पढाए ।
काठमाण्डौंबाट जागीर शुरु गरेका उनी त्यहाँबाट सरुवा भएर धनगढी आए । धनगढीबाट सरुवा भएर पुगे, महेन्द्रनगर ।
महेन्द्रनगरमा जचुकालीको जागीरसंगै सिद्धनाथ बहुमुखी क्याम्पसमा पढाउन शुरु गरे । त्यहाँबाट उनको सरुवा भयो, धनकुटा । धनकुटा छदा त्यही पढाए । र फेरि कञ्चनपुरमा आए । उनले अध्यापनलाई फेरि जोडे । केही वर्षपछि चितवन सरुवा भयो, त्यहाँ बालकुमारीमा पढाए । चितवनबाट सरुवा भएर पुगे, पुरानै ठाउ, महेन्द्रनगर । सिद्धनाथसंग त उनको पुरानो मोह । पढाउन किन छोड्थे । पढाउन थाले । जचुकालीको सातौ तहको अधिकृतबाट उनले २०५१ सालमा राजिनामा दिए । र फर्के हसुलिया । गाँउ फर्के । मन त उही थियो ।
रामदास सरसंग आग्रह गरेर आफैले पढेको छिमानन्द प्राविमा पढाउन थाले । उनी गाँउमा पढाईरहेको थाह पाएपछि धनगढी उपमहानगरपालिकाका तत्कालिन मेयर स्व.किशोर कुमार बम उनलाई भेट्न गाँउमै पुगे । बमले उनलाई ऐश्वर्य विद्या निकेतनको प्रधानअध्यापकको जिम्मेवारी निर्बाह गरिदिन आग्रह गरे । मेयर बमको आग्रह उनले टार्न सकेनन । र २०५३ सालमा उनले ऐश्वर्यको प्रधानअध्यापकको जिम्मेवारी सम्हाले । त्यतिबेला ऐश्वर्यको पढाईको अवस्था नाजुक थियो । प्लस टुमा जम्मा ६ जना विद्यार्थी थिए । ति पनि अन्यत्र जाने मनस्थितिमा थिए । विद्यालय लथालिंग थियो । शिक्षकहरुलाई तलव खुवाउन विद्यालयसंग पैसा थिएन । ऐश्वर्यमा कुल विद्यार्थी संख्या थियो, करीव चार सय ।
जव उनले ऐश्वर्यको जिम्मेवारी हातमा लिए । रातदिन नभनेर खटे । विस्तारै विद्यालयको अवस्था सुधार हुदै गयो । नतिजा पनि राम्रो आउन थाल्यो । विद्यार्थीको संख्या पनि बढ्यो । अभिभावक र विद्यार्थीहरु आकर्षित हुदै गए । प्लस टुमा मानविकी र व्यवस्थापन संकाय थपे ।
माध्यामिक शिक्षा विकास परियोजना मार्फत ल्याव भवन बनाए । जसका लागि तत्कालीन सांसद महेश्वर पाठकले सहयोग गरे । शिक्षाप्रेमी ठेकराज पन्तसंग आग्रह गरी ठेकराज सदन बनाए ।
ऐश्वर्यमा उनकै पालामा बिभागको व्यवस्था भयो । तलव खुवाउन सक्ने अवस्था नरहेको ऐश्वर्यमा उनले शिक्षकको संख्या थपे । र तलव पनि समयमै खाने व्यवस्था गरे । ऐश्वर्यले उनका पालामा भौतिक पूर्बाधार, गुणस्तरमा फड्को मा¥यो । उनले २०५९ सालमा प्रधानअध्यापकको पदबाट राजिनामा दिए । उनले विद्यालय छाड्दा विद्यार्थीको संख्या १२०० पुगिसकेको थियो ।
त्यसपछि उनी शान ईन्टरनेशनलको प्रिन्सिपलको जिम्मेवारी निर्बाह गर्दै काठमाण्डौं पुगे । त्यसको अवस्था पनि नाजुक थियो । सय जना जति विद्यार्थी । बीबीएको मात्र पढाई । लथालिंग अवस्था । उनले त्यहाँ चार वर्ष प्रिन्सिपलका रुपमा काम गरे । त्यो अबधिमा उनले नेपालमै पढाई नहुने माईक्रो बायोलोजीको पढाई शुरु गरे । गुणस्तरमा अब्बल बनाए । विद्यार्थी संख्या सयबाट चार सय पुग्यो । र उनी त्यहाँबाट पनि बिदा भए । उनी जहाँ जान्थे । त्यहाँ राम्रो छाप छोड्थे ।
शान ईन्टरनेशनलपछि उनी पुनः धनगढी फर्किए । धनगढीमा उनले धनगढी ईञ्जिनियरिङ कलेज(नाष्ट) को प्रमुखको रुपमा जिम्मेवारी सम्हाले । विज्ञान संकाय मात्र सञ्चालन थियो । प्लस र स्नातकमा कुल विद्यार्थीको संख्या थियो, ५९ । एउटा कक्षामा ५÷६ जना विद्यार्थी हुन्थे । बढि विद्यार्थी भएको कक्षामा १५÷१६ जना । विद्यार्थी संख्याले कलेजको आर्थिक अवस्था धान्न सक्ने अवस्था थिएन । शिक्षकहरुले ७÷८ महिनादेखि तलव पाएका थिएनन । उनले दिन भनेनन । रात भनेनन । निरन्तर खटिरहे ।
सिभिल ईञ्जिनियरिङ शुरु गरे । बीबीए थपे । उनले विद्यार्थी नपाएर झण्डै बन्द हुने अवस्थामा रहेको नाष्टलाई उचाईमा पु¥याए । गुणस्तरमा अब्बल बनाए । उनले जिम्मेवारी लिदा भाडाको एउटा घरमा सञ्चालनमा रहेको नाष्टको यतिबेला आफ्नै ६ वटा पक्की भवन छन् । विद्यार्थी संख्या १६०० नाघेको छ । पहिले ८ जना शिक्षक थिए । अहिले ६७ जना छन् ।
पोखरा विश्वविद्यालयको मातहतमा रहेका ५८ कलेजमध्ये नाष्ट १० उत्कृष्ट कलेज भित्र दरिएको छ । र हरेक वर्ष हुने परीक्षामा नाष्टबाट युनिभर्सिटिमा उत्कृष्ट नतिजा दिने विद्यार्थी परिरहेका छन् । नाष्टको यो सफलता शिवहरी शर्मा मुडभरीको अथक मिहिनेतको प्रतिफल हो । उनी कुशल प्रशासक हुन । उनले जुन शैक्षिक संस्थाको नेतृत्व गरे, त्यसको कायापलट नै भएको छ ।
उनी हरेक वर्ष विद्यार्थीहरुसंगै रुन्छन । जव विद्यार्थीहरुको विदाईको क्षण आउछ । उनी भावुक हुन्छन । आफूलाई सम्हाल्न सक्दैनन । विद्यार्थीहरु पनि रुन्छन । उनी पनि रुन्छन । विद्यार्थीसंगै विदाई समारोहमा रुन थालेको वर्षौ भयो । क्रम अझै जारी छ ।
यस पटक विद्यार्थी र उनीबीच विदाई कार्यक्रममा नरुने सहमती भयो । तर जव कार्यक्रम समापन हुने क्रममा थियो, विद्यार्थीहरु रुन थाले । र उनीहरुसंग रोयो, उनीपनि । भन्छन्, मैले आफूलाई सम्हाल्नै सकेन ।
विदाईको क्षण किन आउछ होला ? उनी आफैलाई प्रश्न गर्छन । जव हरेक नयाँ शैक्षिक सत्रमा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम आयोजना हुन्छ । त्यतिबेला उनी जति खुशी हुन्छन । उनीभित्र त्यहीबेला एउटा चिन्ता पनि शुरु भईसक्छ,अव विदाईका लागि तयार हुनु पर्छ ।
विद्यार्थीसंग उनको लगाव गजवकै छ । गुरु र शिष्यको सम्बन्ध अटुट र पवित्र हुन्छ । सबै गुरु आदर्श व्यक्ति हुदैनन । उनी विद्यार्थीका लागि आदर्श गुरु हुन् । संसारका जुन सुकै कुनामा पुगेपनि उनलाई विद्यार्थीहरुले अझै सम्झिन्छन । आदर गर्छन । चिन्ता गर्छन ।
सुदूरपश्चिममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने थोरै व्यक्तिहरुमा उनी पनि चिनिन्छन । उनका उमेरका साथीहरु कतिपयको निधन भईसक्यो । कतिपय घरमा आराम गरेर बसिरहेका छन् ।
उनी गुरु हुन् । ज्ञानको ज्योती हुन् ।
परिवार मात्र पाल्ने सोच हुन्थ्यो भने । जचुकालीको जागीरमै जिन्दगी बिताउन सक्थे । जिन्दगी त बिताउनलाई होईन । न त काट्ने चिज नै हो ? यो त उपयोग गर्ने चिज हो । आफ्ना लागि अरुका लागि सदुपयोग गर्ने चिज हो ।
जचुकालीमा उनी अधिकृत थिए । त्यही रही रहेको भए उनी त्यो भन्दा माथिल्लो पदमा पुगेर अवकाश पाउथे होलान । तर त्यहा रही रहे उनले पढेको शिक्षा,ज्ञान र अनुभवले एउटा अधिकृत मात्र जन्मिन्थ्यो । तर उनले शिक्षण पेशा रोजे । र हजारौ अधिकृत उत्पादन गरे ।
एउटा बलेको दियोले हजारौ दियो बाल्न सकिन्छ । उनी पनि दियो हुन् । दियोको बाती हुन् । उनीभित्रको ज्ञान, शिक्षा र अनुभवको तेलले हजारौ दियो बलेका छन् ।
जिन्दगीमा उनले जोडेको यही हो । कमाएको यही हो । उनी भन्छन्, म यसैमा सन्तुष्ट छु ।
कक्षा कोठामा जति शान्ति उनलाई कहि मिल्दैन । उमेरले भन्छ, बृद्ध भईसक्यो । तर उनको मन अझै तन्नेरी छ । र त ७० वर्ष पुग्न एक वर्ष बाँकी रहदा न उनको उर्जा कमि छ ।
जव मान्छे बृद्ध हुदै जान्छ । शरीरमा उर्जा कम । आलस्य बढि । उत्साह कम । निराशा बढि हुन्छ । जीवनको उत्तरार्धमा मान्छे बिगतलाई सम्झिदै घोत्लिन्छ । ओहो, समय बितेको त पत्तै भएन । यो गर्न सकिएन । त्यो गर्न सकिएन । जिन्दगी त बेकारमा बित्यो । मान्छेहरु आफैले बाँचेको जिन्दगीलाई लिएर पछुतो गर्छन । तर उनलाई न पछुतो छ । न त उनीसंग पछुताउन समय छ । उनी यो उमेरमा पनि उत्तिकै सक्रिय छन् । उनको दैनिकी फेरिएको छैन । घरबाट कलेज । कलेजबाट घर । उनी समयको पक्का छन् ।
source:Pashchim today